Brief Introduction

बीरगंजको स्थापना भएको झन्डै ११६ वर्षभन्दा बढी भइसकेको छ । तत्कालीन श्री ३ वीर शम्शेरले वि.सं. १९४५ देखि १९५० को बीचमा बीरगंज बजार स्थापना गरेको अनुमान छ । वीर शम्शेरले स्थापना गरेको हुनाले यसको नाम बीरगंज रहन भएको हो भन्ने भनाइ रहेको छ । बीरगंज स्थापनाभन्दा अगाडि पर्सा जिल्लाको मुख्य केन्द्र अलौं थियो । वि.सं. १९०४ साउन महिनामा सुगौलीबाट राजा राजेन्द्रले पर्सा जिल्लाको अलौंमा सैनिक क्याम्प राखेको इतिहास छ ।

बीरगंज बजारको स्थापनाभन्दा अगाडि यस आसपासका गाउँहरू बगही, अलौं, बरेवा, कलैया, प्रसौनी, इनरुवा, छपकैया, अस्तित्वमा आइसकेका थिए । कलैयाबाट प्रसौनी, इनरवा गाउँ हुँदै छपकैया भएर अलौं जाने सानो बाटो थियो, उक्त बाटोलाई रजैया सडक भनिन्थ्यो भन्ने तथ्य बीरगंजको ऐतिहासिक खोज पुस्तक बीरगंजको नालीबेलीमा उल्लेख छ । जंगलले ढाकेको स्थानमा बीरगंज बजार स्थापना गर्न श्री ३ वीर शम्शेरले आफ्ना विश्वासपात्र द्वय सिद्धवीर माथेमा र ध्वजवीर माथेमा (दुई दाजुभाइ) लाई क्रमशः माल अड्डा तथा काठ माल अड्डाको हाकिम बनाई बीरगंजमा खटाएका थिए । त्यसै सिलसिलामा सिद्धवीर माथेमाले निःशुल्क जग्गा तथा काठ वितरण गर्नुका साथै बीरगंजमा घर बनाउनेहरूलाई नगदको व्यवस्था गरी सहयोग पुर्याएका थिए । उक्त कार्यले पछि सिद्धवीर माथेमालाई मृत्युदण्डको सजायसमेत भुक्तान गर्नु पर्ने अवस्था आइसकेको थियो ।

वीर शम्शेरको स्वर्गबासपछि श्री ३ देवशम्शेर महाराज भए । तर चन्द्र शम्शेरले चलाखीपूर्ण चाल चली करिब तीन महिनाभित्रै देवशम्शेरलाई अपदस्त गरी आफैं श्री ३ महाराजा बने । स्व. वीरशम्शेर र देवशम्शेरका मान्छेहरूलाई चन्द्र शम्शेर देखी सहँदैनथे । वीर शम्शेरका खास मान्छे सिद्धवीर माथेमामाथि रिसइवी साँधी उनले सम्हालेको माल अड्डा जाँच गराउन लगाई माथेमामाथि तीन लाख अनियमितता गरेको आरोप लगाइयो । सिद्धवीरले बीरगंज बजार बसाल्नमा खर्च गरिएको हिसाब देखाउँदा त्यसलाई अमान्य ठहर गरियो र तत्काल रकम तिर्न आदेश जारी भयो । माथेमाले आफूले नखाएकाले रकम तिर्न नसक्ने जवाफ दिएपछि सजायस्वरूप छातीमा साइनबोर्ड टाँसेर बाजागाजासहित बजार परिक्रमा गराउँदै मच्छाखुशीमा लगेर काटेर हत्या गरिदिने मृत्युदण्डको मौखिक फैसला भयो । खाइ नखाई अहोरात्र खटेर बीरगंज बजार स्थापनामा वीर शम्शेरलाई सहयोग पुर्याउने माथेमामाथि मृत्युदण्डको फैसला भएको खबर सुनेपछि स्व. श्री ३ वीरशम्शेरकी महारानीले आफ्नो तर्फबाट रु. तीन लाख रकम तिरिदिएर माथेमालाई मृत्युदण्डको सजायबाट छुटकारा दिलाइन् ।

हाल नेपालको मुख्य प्रवेशद्वारको रूपमा रहेको बीरगंज शहरसँग जोडिएका नेपालकै प्रमुख मित्रराष्ट्र भारतको रक्सौल शहर पनि स्थापना भएको थिएन । त्यतिबेला भारतीय रेलहरू सुगौलीसम्म मात्र सञ्चालन थिए । सुगौलीबाट सामान ओसारपोसार गरी काठमाडौं लान गोरुगाडा प्रयोग गरिन्थ्यो । गोरुगाडामा सामान लोड गरी रक्सौल हुँदै छपकैया, सिमरा, अमलेखगंज हुँदै भीमफेदीसम्म पुर्याइन्थ्यो र त्यहाँबाट भरियाले पिठ्यूँमा बोकी काठमाडौंसम्म पुर्याउँथे । जसरी बीरगंज बजार बन्न पुग्यो त्यसरी नै भारतको रक्सौलमा पनि बजार बसेको हुनुपर्दछ । त्यतिबेला रक्सौल शहर फलेजरगंजको नामले चिनिन्थ्यो । तत्कालीन भारतमा ब्रिटिस साम्राज्यको चलनचल्ती भएकाले त्यहाँका प्रमुख व्यक्तिलाई फलेजर साहेब भनी सम्बोधन गरिन्थ्यो । पछि नेपालको सिमाना हुँदै रेल सेवा विस्तार गरी रेल स्टेशनको नाम रक्सौल रहन गएको बुझिन्छ ।

श्री ३ चन्द्र शम्शेरले आफ्ना दाइले स्थापना गरेको बीरगंज बजारलाई समेत विस्थापित गर्न चाहेका  थिए । उनी बीरगंजको बजारलाई त्यहाँबाट हटाएर रौतहटको हजमिनियामा बसाल्न चाहन्थे । बजार विस्थापित गर्ने चाल अनुसार वि.सं. १९८० मा रक्सौलदेखि बीरगंजको मुख्य बजार अतिक्रमण गर्दै अमलेखगंजसम्म रेल लाइन सेवा विस्तार गरे । लिंकबाट रेल कुद्दा आसपासका घरहरू चर्कने, फुट्ने र बासिन्दाहरू आतंकित हुने गर्थे तर बीरगंजबासीहरू अनेक विन्ती भाउ गर्दै रेललाइन बजार बाहिर सार्न अनुरोध गर्नतर्फ लागे तर उनी हजमिनिया जान तयार भएनन् । पछि रेल्वे लिंक बजारको पूर्वतर्फ (बजार बाहिर) सारिएको थियो ।

भौगोलिक स्थिति :
पूर्व        :    बारा जिल्ला
पश्चिम   :    पर्साको श्रीसिया खल्वाटोला, रामगढवा, प्रसौनीविर्ता
उत्तर    :    बारा जिल्ला
दक्षिण     :    भारतको बिहार
अक्षांस    :    २६ डिग्रीउत्तरदेखि २६ डिग्री उत्तर अक्षांशसम्म
८१ डिग्री पूर्वदेखि ८१ डिग्री पूर्वी देशान्तरसम्म
समुद्र 
सतहदेखिको उचाई    :        १२२ मि. देखि १२५ मि. सम्म

राजनैतिक तथा प्रशासनिक विभाजन :
विकास क्षेत्र                         :    मध्यमाञ्चल
अञ्चल                    :    नारायणी
जिल्ला                    :    पर्सा
जम्मा वडा संख्या                :       ३०
वीउमनपा कार्यालय रहेको स्थान        :    १३ नं. वार्ड
राजधानीसम्मको दूरी               :    १९२ कि.मि.
नजिको विमानस्थल सिमरा सम्मको दूरी    :    २२ कि.मि.
महेन्द्र राजमार्ग (पथलैया) सम्मको दूरी     :    २६ कि .मि.
क्षेत्रफल                :           करिब २२ वर्ग कि.मि.
जनसख्या  (०६८ को जनगणना अनुसार) :         १४० हजार