FAQs Complain Problems

महानगरपालिकाको राजस्व अनुगमन टोली चुहावट नियन्त्रणमा

बीरगंज २७ मंसिर ।
बीरगंज महानगरपालिकाको राजस्व अनुगमन तथा संकलन समितिले आज वडानम्बर १६ र ५ मा राजस्व चुहावट सम्बन्धी अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक प्रदिप चौरसियाको नेतृत्वमा खटिएको टोलीले वडा कार्यालयमा उपभोक्ताले तिरेको राजस्वको विवरण तिर्ने भन्दा बढी लिए नलिएको चेकजाँच, सेवामा पारदर्शिता भए नभएको बारेमा अनुगमन गरेको थियो । टोलीले सरकारले तोके बमोजिमको राजस्व लिए नलिएको, रसिद काटे नकाटेको सम्बन्धमा समेत चेकजाँच गरेको थियो । टोलीले गण्डक स्थित सपिङ्ग सेडको समेत स्थलगत निरिक्षण गरेको थियो । टोलीमा बीरगंज महानगरपालिकाको आन्तरिक लेखा परिक्षण शाखाका हरि शंकर प्रसाद कुर्मी, राजस्व शाखाका हरि पोखरेल, नगर प्रहरी जग राउत लगायतको उपस्थिति रहेको थियो । उपभोक्ताले तिरेको राजस्वमा अनियमितता भएको गुनासो आएपछि राजस्व अनुगमन समितिले आजबाट प्रत्येक वडामा चुहावट नियन्त्रण गर्न छड्के चेकजाँच शुरु गरेको समितिका संयोजक चौरसियाले बताउनु भयो । राजस्व समितिले नेशनल मेडिकल कलेज, टाउन हल, अन्तर्राष्ट्रिय स्वीमि पुल, घडिअर्वा पोखरी, मिनाबजार, माईदिया पोखरी, विन्दवासिनी सपिङ्ग सेड, गण्डक सपिङ्ग सेडमा महानगरपालिकाले लिनु पर्ने राजस्व सम्बन्धित संस्थाले नतिरेपछि उनिहरुलाई पत्रचार गरी ताकेता गरिएको र तोकेको समय सिमा भित्र नतिरेमा निजको चल अचल सम्पति रोक्का राखि प्रचलित कानुनी प्रक्रिया अगाडी बढाईने चेतावनी चौरसियाले दिनुभयो ।