FAQs Complain Problems

"Revenue doubles for Birgunj" published in Rajdhani Daily 2073/07/09

राजधानी संवाददाता
वीरगन्ज, ८ कात्तिक
लामो सार्वजनिक बिदा परेको महिनामा लक्ष्यअनुसारको राजस्व संकलन नहोला कि भनी दोधारमा रहेको वीरगन्ज उपमहानगरपालिकाको राजस्व संकलन अपेक्षा गरेभन्दा दोब्बर बढी संकलन भएको छ । दसैंजस्तो लामो बिदा परेको चालू आर्थिक वर्षको असोज महिनामा राजस्व संकलनमा लक्ष्य पूरा नहोला भनी सशंकित उपमहानगरपालिकाको राजस्व संकलन अपेक्षा गरेभन्दा दोब्बर बढी संकलन भएको हो ।

असोज महिनाका लागि उपमहानगरपालिकाले करिब १ करोडको लक्ष्य लिएको थियो । तर, राजस्व संकलन भने १ करोड ९८ लाख ९४ हजार ६ सय ४८ रुपैयाँ संकलन भएको वीरगन्ज उपमहानगरपालिकाको तथ्यांकमा उल्लेख गरिएको छ । राजनीतिक दलको आडमा उपमहानगरपालिकाभित्र रहेका सार्वजनिक संरचनामा बलजफ्ती उपभोग गर्ने परिपाटीलाई परिवर्तन गर्दै विभागको निर्देशनलाई समेत पालना गरी स्थानीय सार्वजनिक संरचना बोलकबोलबाट सेवाग्राहीहरूलाई प्रयोग गर्न दिँदा राजस्व संकलनमा पनि केही बल मिलेका वीरगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

यसका साथै उपमहानगरपालिकामा सेवा लिन आउने सेवाग्राहीलाई राजस्व शाखाका कर्मचारीले बिदाबाहेका दिनमा पर्याप्य समय उपलब्ध गराएकाले पनि यो लक्ष्य पूरा गर्न सकिएको उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज कर्णले राजधानीलाई बताए ।

एडीबीको परियोजनामा नगरको विभिन्न विकास निर्माणका काम भइरहेको अवस्थामा स्थानीयस्तरको राजस्व संकलन प्रमुख हुने कुरालाई मध्यनजर गरी पहिले दिउँसो ३ बजेपछि राजस्व संकलन नगर्ने परिपाटीलाई परिवर्तन गरी कार्यालय समयभित्र जति बजे सेवाग्राही आए पनि सेवा दिने रणनीति बनाउँदा पनि लक्ष्यको तुलनामा झन्डै देब्बर राजस्व संकलन गर्न सकिएको उनको भनाइ छ ।

स्थानीयस्तरको विकासमा सो क्षेत्रका नागरिकले बुझाउने करको महत्त्व बढी हुन्छ भन्ने कुरालाई निरन्तर नगरवासीलाई जानकारी गराइरहँदा पनि कार्यालयलाई थप सफलता मिलेको शाखा प्रमुख कर्णको तर्क छ । यस अभियानमा भने कार्यालय प्रमुख विष्णु कोइरालाको योगदान चर्चा नगरीरहन सकिन्न । बढी राजस्व बाँकी भएका सेवाग्राहीकामा उनी आफैंले पहल गरिरहँदा चालू आर्थिक वर्षको हरेक महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन भइरहेको पनि उनले बताए ।

असोज महिनामा त उमपहानगरपालिकाले यसभन्दा पहिलेका आर्थिक वर्षमा संकलन गरेको भन्दा झन्डै तीन दोब्बर बढी राजस्व संकलन भएको पनि वीरगन्ज उपमहानगरपालिका राजस्व शाखाले जनाएको हो । ‘गएको आर्थिक वर्ष मधेस आन्दोलनका कारण कुल २४ हजार ६ सय ११ रुपैयाँ मात्र राजस्व संकलन भएको उपमहानगरपालिकामा विगतका वर्षमा पनि सबैभन्दा बढी २०७०/०७१ हालसम्मकै सबैभन्दा बढी ६९ लाख ९७ हजार उठेको थियो । तर, यस आर्थिक वर्षमा त त्यसको झन्डै तीन गुणा बढी नै राजस्व संकलन भयो,’ शाखा प्रमुख कर्णले भने ।

चालू आर्थिक वर्षको असोज महिनामा संकलित राजस्वमध्ये सबैभन्दा बढी मिनाबजार कप्लेक्स टेन्डरमार्फत प्रयोगकर्तालाई उपलब्ध गराउँदा एकमुष्ठ ६५ लाख ३८ हजार ८ सय ८८ रुपैयाँ राजस्व संकलन भएको उपमहानगरपालिकाले जनाएको छ ।

त्यसैगरी, सम्पति करतर्फ ४७ लाख ६५ हजार ३ सय ९५ रुपैयाँ, नक्सापासतर्फ २४ लाख ६ हजार ४ सय ३ रुपैयाँ, सडक बोर्डतर्फबाट २१ लाख र व्यवसाय करतर्फबाट ९ लाख २ हजार ५ सय राजस्व संकलन भएको छ । यसबाहेक अन्य विविध शीर्षकमा गरी उक्त परिमाणको राजस्व संकलन भएको उपमहानगरपालिकाले जनाएको हो ।