FAQs Complain Problems

A pile of garbage gift to the taxpayers who haven't paid their taxes (source: Rajdhani Daily)

तुलसी भण्डारी / राजधानी
वीरगन्ज, ८ वैशाख

अटेर गरी वीरगन्ज उप महानगरपालिकालाई कर नबुझाउने सेवाग्राहीकै गेटअगाडि अन्यत्रको फोहोर उठाएर फाल्न सुरु गरिएको छ । दुई दशकभन्दा लामो समयदेखि अटेर गरी उपमहानगरपालिकालाई कर नबुझाउने करदाताको गेटअगाडि सांकेतिक रूपमा बुधबारबाट फोहोर फाल्न थालिएको हो ।

पटकपटकको अनुनय विनयलाई पनि बेवास्ता गर्दै दुई दशकभन्दा लामो समयदेखि एक रुपैयाँसमेत कर नबुझाउने अटेर करदाताको गेटमै अन्यत्रबाट उठाएर ल्याएको फोहोर लगेर फाल्न सुरु गरिएको वीरगन्ज उपमहानगरपालिका कार्यालयका प्रमुख कार्यकारी अधिकृत विष्णु कोइरालाले राजधानीलाई बताए । अटेर करदातामा दर्ज भई २०५५ सालयता एक पैसा पनि कर नबुझाउने करदातामध्ये बुधबार पहिलो दिन वीरगन्ज १४ मा पर्ने कृषि सामग्री कम्पनी लि. को गेटअगाडि सांकेतिक रूपमा एक ट्याक्टर फोहोर लगेर फालिएको छ ।

‘उसको हालसम्म वीरगन्ज उपमहानगरपालिकालाई बुझाउनु पर्ने ९१ लख ३६ हजार बक्यौता रहेको छ,’ उनले भने । सम्झाउँदा अनुरोध गर्दा केही नचलेपछि नैतिक दबाबस्वरूप यस्तो कदम उठाइएको प्रमुख कार्यकारी अधिकृत कोइरालाले बताए ।

कृषि सामग्री कम्पनीजस्तै लामो समयदेखि उपमहानगरपालिकालाई कर नबुझाउने अन्यको गेटअगाडि पनि दबाबस्वरूप फोहोर फालिदिने वीरगन्ज उपमहानगरपालिका कार्यालयको राजस्व शाखाका शाखा प्रमुख हरिकिशोर चौरसियाले बताए । कानुनी रूपमा नीतिसंगत नहोला तर समग्र नगरवासी र नगरको हितका लागि मोटो रकम हुँदासम्म अटेर गर्नेलाई नैतिक दबाब दिन कठोर कदम उठाउन बाध्य भएको उनको तर्क छ ।

हालसम्म अटेर गरी वीरगन्ज उपमहानगरपालिकालाई कर नबुझाउने नगर क्षेत्रभित्र रहेका करदातामध्ये नेसनल मेडिकल कलेज अग्रस्थानमा छ । गत वर्ष ठूलै दबाबका वावजुद १ करोड २९ लाख उसले कर बुझाएकाले पहिलोपटक उसको गेटमा भने फोहोर नफालिएको वीरगन्ज उपमहानगरपालिकाको भनाइ छ ।

सबैभन्दा बढी कर बक्यौता बाँकी राख्ने नेसनल मेडिकल कलेजसँग वीरगन्ज उपमहानगरपालिकाले लिन बाँकी अझै १० करोड ९६ हजार ४ सय १५ रुपैयाँ छ उपमहानगरपालिकाको राजस्व शाखाका शाखा प्रमुख चौरसियाले राजधानीसँग भने ।

यससँगै अटेर गर्ने करदातामध्ये टप टेनमा पर्नेमा नेपाल विद्युत् प्राधिकरणसँग ५ करोड ३ लाख ७३ हजार ६४ रुपैयाँ, वीरगन्ज चिनी कारखानासँग ४ करोड ६० लाख ८५ हजार, नेसनल टे«डिङ लिमिटेडसँग ४ करोड ३४ लाख ५९ हजार ५ सय ५४, नेपाल खानेपानी संस्थानसँग १ करोड २६ लाख ८६ हजार ३ सय ९, सुरज हाउजिङ कम्पनीसँग ४५ लाख २३ हजार ३ सय ४६ रुपैयाँ, साल्ट ट्रेडिङ लिमिटेडसँग ३५ लाख ९ हजार १ सय ७८, निना कम्प्लेक्ससँग ८ लाख २४ हजार १ सय ९५ रहेको पनि राजस्व शाखा प्रमुख चौरसियाले बताए ।

अचम्मको कुरा त शिक्षित कोटामा रहने डा.अशोक शाहले वर्षौंसम्म तागदा गर्दा पनि आफ्नो घर जग्गाको विवरणसमेत उपलब्ध गराएका छैनन् । विवरण पेस नभएकाले गर्दा उनको यकिन गर्न भने सकिएको छैन । उनको सम्पत्ति र घर तथा नसिंग होमको अनुमान गर्दा उनले पनि करोड भन्दा कम बुझाउने कर ननिस्कने उपमहानगरपालिकाको भनाइ छ ।

प्रकाशित मिति: २०१६-०४-२१ ०६:१०