FAQs Complain Problems

मिति २०७३।०४।१६ गतेका दिन "राजधानी" पत्रिकामा प्रकाशित समाचार

वीरगन्ज उपमहानगरपालिकाको लक्ष्यभन्दा बढी राजस्व संकलन
राजधानी संवाददाता
वीरगन्ज, १६ साउन

आयातनिर्यात बढी हुने मुलुककै प्रमुख वीरगन्ज भन्सार कार्यालयले गएको आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेन । कारण रह्यो, ६ महिने लामो मधेस आन्दोलन । तर, यही भन्सार कार्यालय अवस्थित र मधेस आन्दोलनको पनि केन्द्र रहेको वीरगन्ज उपमहानगरपालिकाले भने गएको आर्थिक वर्षमा राजस्व संकलनमा नसोचेको परिणाम हासिल गर्न सफल भएको छ ।

गत आवमा आधा वर्ष मधेसका आन्दोलनकारीले सहज ढंगले कार्यालय सञ्चालन गर्न नदिएको वीरगन्ज उपमहानगरपालिका कार्यालयले आफूले राखेको लक्ष्यभन्दा २१ लाख ९१ हजार ४ सय ५९ रुपैयाँ बढी राजस्व संकलन गरी सबैलाई चकित पारेको छ ।

उपमहानगरपालिकाले गएको आर्थिक वर्षमा कुल १३ करोड २९ लाख २७ हजार ३ सय १७ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, असार मसान्तसम्ममा कुल १३ करोड ५१ लाख १८ हजार ७ सय ७६ रुपैयाँ राजस्व संकलन गरी लक्ष्य पार गरेको वीरगन्ज उपमहानगरपालिका कार्यालयका प्रमुख कार्यकारी अधिकृत विष्णु कोइरालाले बताए ।

३ अर्बको ठूलो विकास योजना पनि यसै नगरमा चलिरहेको अवस्थामा त्यो योजनाका लागि उपमहानगरपालिकाले जुटाउनुपर्ने आन्तरिक रकम यहीँको राजस्व संकलनबाट जुटाउनुपर्ने ठूलो अभिभारा फत्ते गर्न कम सजिलो थिएन । ‘तर, सबै कर्मचारीको अथक प्रयासले परिणाम राम्रो आयो,’ उनले भने ।

गएको आर्थिक वर्षमा आयात निर्यात र जिल्ला अदालतसमेत ठप्प पारी मधेस आन्दोलन चर्किएको यस नगरीमा उपमहानगरपालिकाको स्थानीय कर लक्ष्य अनुसारको उठ्ने कल्पनै थिएन । तर, माघमा आन्दोलन खुकुलो भएपछि बढो लगन र सुझबुझका साथ राजस्व संकलनमा प्रमुख कार्यकारी अधिकृत सहितको टोली जुट्दा सफलता मिलेको वीरगन्ज उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख मनोज कर्णले राजधानीलाई बताए । ‘आन्दोलन केही खुकुलो भएदेखि बिहान बेलुका नभनी सबैजना जुट्दा लक्ष्य चुम्न सकियो,’ उनले थपे ।

गएको आर्थिक वर्षमा साउनमा मात्र १ करोड ६२ लाख ६ हजार ८ सय २५ रुपैयाँ संकलन गरेको थियो । यसलगत्तै मधेस आन्दोलन सुरु भएपछि भदौमा एकैपटक सो रफ्तार घटेर १५ लाख ८६ हजारमा झरेको थियो । असोजमा २४ हजार, कात्तिकमा ९ हजार, हुँदै मंसिरबाट अलिअलि उकालो लाग्न थालेको राजस्व संकलन माघमा ४९ लाख रुपैयाँ माथि पुगेको हो । त्यसैगरी फागुनमा भने १ करोड ८५ लाख, चैतमा १ करोड ४८ लाख राजस्व उठेको थियो भने वैशाखमा १ करोड ३५ लाख, जेठमा २ करोड १४ लाख र वर्षभरको सबै महिनाभन्दा बढी असारमा एकै पटक ४ करोड ९२ लाख रुपैयाँ संकलन भएको उपमहानगरले जानकारी दिएको छ ।

राजस्व संकलनका लागि कर्मचारी नागरिकका घरघरमा दैलो ढकढकाउँदै पुगेको शाखा अधिकृत कर्णले बताए । संकलित करमा सबैभन्दा बढी स्थानीय करबाट संकलन भएको उनको भनाइ छ । वर्षौं उपमहानगरपालिकालाई तिर्नुपर्ने कर नतिरी लाखौं पुर्‍याउने करदातामध्ये नेसनल मेडिकल कलेज, पम्पम बिल्डिङ, निना कम्प्लेक्स र डा. अशोक शाहले भने अझै नगरपालिकाको ताकेतालाई बेवास्ता गरेको उपमहानगरपालिकाको भनाइ छ ।

नेसनल मेडिकल कलेजसँग मात्र ९ करोडभन्दा बढी राजस्व रोकिएको छ भने पम्प विल्डिङवालासँग २० लाख, निना कम्प्लेक्सवालासँग ८ लाख र डा. अशोक शाहसँग ४० लाख जति छ । बाँकी सानो तिनो कर नबुझाउने त हजारौं करदाता कर नतिरी बसेको राजस्व शाखाका प्रमुख कर्णले भने ।

उपमहानगरपालिकाले गएको वर्ष संकलन गरेको उक्त परिणामको राजस्व अघिल्लो आर्थिक वर्ष ०७१/७२ को बाहेक अघिल्ला सबै वर्षको भन्दा बढी पनि हो । अघिल्लो आवमा चाहिँ कुल १४ करोड ८ लाख ३९ हजार ५ सय ३८ रुपैयाँ संकलन भएको थियो । नत्र आव ०७०/७१ म १० करोड ३० लाख ३६ हजार ६ सय ७ रुपैयाँ मात्र संकलन भएको उपमहानगरपालिकाको तथ्यांकमा उल्लेख छ । उपमहानगरपालिकाको मूल राजस्व संकलनमा अझै पनि टाउको दुखाई भनेको व्यवसायी कर संकलनमा पनि हो । नगर क्षेत्रमा रहेका करिब ४ हजार व्यवसायीमध्ये नियमित कर बुझाउने भनेको कुल १२ सय जति मात्र छन् । नयाँ करदाता बढाउनुपर्ने उपमहानगरपालिकालाई प्रमुख चुनौती रहेको वीरगन्ज उपमहानगरपालिकाले बताएको छ ।

प्रकाशित मिति: २०१६-०८-०१ ०८:५५ |